काठमाडौं । गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक परे तत्काल परिचालन गर्न सक्ने गरी तयारी गर्न आदेश दिएका हुन्।
बैठकपछि गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले भने, “मन्त्रीज्यूले चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन निर्देशन दिनुभएको छ। सोअनुसार सुरक्षा निकाय पनि सतर्क अवस्थामा छन्।”
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए। बैठकमा हैजा नियन्त्रणसँगै मुलुकभरको शान्ति–सुरक्षाको अवस्था र व्यवस्थापनबारे पनि विस्तृत समीक्षा गरिएको प्रवक्ता काफ्लेले बताए।
उनका अनुसार हाल भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिलाई दृष्टिगत गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा गहन छलफल भएको छ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया