काठमाडाैं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेपछि आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन्।

न्यायाधीश शंकरकुमार राईको इजलासमा उपस्थित भएर बमजनले आफ्नो बयान दिँदै ठगीमा संलग्न नभएको दाबी गरेका छन्। अदालतका स्रेष्तेदार राजन खनालका अनुसार बयान प्रक्रिया सकिएकाले आजै आदेश जारी हुने सम्भावना छ।

advertisement

जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रअनुसार बमजनले अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको आरोप छ। साथै, सहकारीमार्फत अपचलन भएको करिब १ अर्ब ५१ करोड रुपैयाँको संयुक्त अभियोग समेत उनमाथि लगाइएको छ।

बमजन गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन्। उनले नै राईलाई सहकारीमा ल्याएर अध्यक्ष बनाएका थिए। पछि राईले बमजनकी बहिनी भगवतीसँग दोस्रो विवाह गरेका थिए।

बमजनको अदालत उपस्थितबारे पीडितहरूले भने असन्तुष्टि जनाएका छन्। सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रतिवादी उपस्थित हुँदा पीडितलाई जानकारी नदिइएको गुनासो गर्दै इजलासमै आफैंले कुरा राख्न खोज्दा प्रहरीबाट “चुप लाग” भन्दै हस्तक्षेप भएको दाबी गरे।

अदालतमा पीडिततर्फबाट अधिवक्ता युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनतर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com