काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दर्ता गरेकी छन्।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईका अनुसार न्यौपानेले मंगलबार तोकिएको समयमा आफ्नो उम्मेदवारी दर्ता गरिन्। उनको उम्मेदवारी कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठले प्रस्ताव गरेका छन्। खतिवडा यसअघि समितिको सभापति थिए, तर कुलिङ पिरियड विवादपछि गत साउन २८ गते उनले पदबाट राजीनामा दिएका थिए।
सांसद न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान बुढानीलकण्ठस्थित शेरबहादुर देउवा निवासमा बसेको बैठकले गरेको थियो। पार्टीको निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन्।
न्यौपाने कांग्रेसको समानुपातिक सांसद हुन् र यसअघि उनले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी थिइन्, तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग पराजित भएकी थिइन्।
राज्य व्यवस्था समिति सभापतिका लागि उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो। निर्वाचन बुधबार दिउँसो ३ बजे समितिको बैठकमा हुने कार्यक्रम सङ्घीय संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको छ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया