थियानजिन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा बोल्दै आतङ्कवादविरुद्ध सबै देशले एक स्वरमा कठोर सन्देश दिनुपर्ने बताएका छन्। उनले हालै भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणको उदाहरण दिँदै आतंकलाई समर्थन गर्ने मुलुकहरूप्रति अप्रत्यक्ष रूपमा पाकिस्तानलाई निशाना बनाएका थिए।
मोदीले भने, ‘भारत चार दशकदेखि निर्दयी आतङ्कवादको पीडामा छ। धेरै आमाहरूले आफ्ना छोराछोरी गुमाएका छन्, धेरै बालबालिका अभिभावकविहीन भएका छन्। हालैको पहलगाम आक्रमणले आतङ्कवादको अत्यन्तै घृणित रूप देखायो। यस कठिन घडीमा भारतसँग ऐक्यबद्धता जनाउने सबै मित्र राष्ट्रप्रति म आभारी छु।’
उनले उक्त आक्रमणलाई भारतको आत्मामाथिको मात्र प्रहार नभई मानवतामाथिको पनि खुला चुनौती भएको बताए। मोदीले प्रश्न उठाउँदै भने, ‘के आतङ्कवादलाई खुलेआम समर्थन गर्ने केही मुलुकहरूको आचरण हामीले स्वीकार गर्न सक्छौँ? उत्तर स्पष्ट छ — सकिन्न। हामीले संयुक्त रूपमा र स्पष्ट स्वरमा भन्नैपर्छ, आतङ्कवादका हरेक रूप र रंग अस्वीकार्य छन्।’
एससीओबारे भारतको दृष्टिकोण
प्रधानमन्त्री मोदीले चीनका राष्ट्रपति सी जिनपिङलाई स्वागतका लागि धन्यवाद दिँदै एससीओबारे भारतको नीति तीन आधारस्तम्भमा रहेको स्पष्ट पारे। उनका अनुसार, एससीओको अर्थ सुरक्षा, कनेक्टिभिटी र अवसर हो।
संयुक्त राष्ट्रसंघ सुधारको माग
सम्बोधनको क्रममा मोदीले संयुक्त राष्ट्रसंघ प्रणालीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘एससीओ सदस्य राष्ट्रहरूले विश्वव्यापी संस्थाहरूमा सुधारका लागि एकताबद्ध प्रयास गर्न सक्छन्। संयुक्त राष्ट्रसंघको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा हामी सर्वसम्मतिले यसको सुधारका लागि आवाज उठाउन सक्छौँ।’
मोदीले ग्लोबल साउथ का आकाङ्क्षा पुरानो ढाँचामा सीमित राख्नु भविष्यका पुस्ताप्रति अन्याय हुने टिप्पणी गरे। उनले भने, ‘नयाँ पुस्ताका रंगीन सपनाहरूलाई पुरानो ढाँचाको कालो–सेतो पर्दामा प्रस्तुत गर्न सकिँदैन। अब पर्दा परिवर्तन गर्ने बेला आएको छ।’
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया