काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नर्भिक अस्पतालले बनाएको संरचना हटाउन मानवीय संवेदनाका आधारमा समय दिएको बताएका छन् ।
मंगलबार दिउँसो नर्भिक अस्पताल पुगेर फर्किएका उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका छन्, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो ।’
‘अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ’ बालेनले फेसबुकमा लेखेका छन् ।
नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र भत्काउन अल्टिमेटम दिएको थियो । त्यसपछि मंगलबार दिउँसो बालेन आफैं अस्पताल पुगेका थिए ।
त्यस क्रममा नर्भिकल अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालको सेवा प्रभावित हुने भन्दै तत्काल संरचना भत्काउन नसक्ने बताएका थिए । त्यसपछि मेयर बालेन र अस्पताल प्रशासनबीच काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति भएको थियो ।
मेयर बालेनले दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रुपमा बनाइएका संरचना भत्काउनैपर्ने अवस्था रहेको बताएका छन् ।
प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार
प्रतिक्रिया