चितवन । यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुटेका  छन । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गरेका हुन।

यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गरेको हो । उनले भने , “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ ।”

advertisement

विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उनले बताए । “बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उनले भने, “कोरोना भन्दा पहिला काठमाडौँमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ । कोरोनाकालमा घर आएँ । सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ ।” बजारमा कामिनी फूल रु ८० देखि एक सय र जिप्सी रु दुई हजारसम्म पर्ने गर्दछ । कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ ।

सुरुआती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिक रूपमा विस्तार गरेको श्रेष्ठले बताए । हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौँ, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उनले बताए। व्यवसायलाई अझै बढाउने तयारीमा रहनुभएका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिएका छन ।

उनले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाएका छन । “पहिले सयपत्री फूलको माला रु १० मा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो । अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु”, सुरुआतका दिन सम्झँदै उनले भने, “रातभरि माला बुनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो । अहिले फूलको प्रयोग बढ्दै गएको छ ।” उनले हाल पुष्प व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बताए ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com