काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका ५ जनाले आज सर्वोच्चमा संयुक्त रिट निवेदन दिएका हुन्।

गत श्रावण ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की सर्ट लिस्टमा परेका थिए । उनीहरुमध्ये तीन जनाको नाम छनोट गरी सञ्चार मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा रहेका केसीलाई मन्त्रीपरिषदले अध्यक्ष नियुक्त गरेको हो।

केसीलाई नियुक्त गर्दा नाजायज तरिकाले मापदण्ड संसोधन गरिएको आरोप आज रिट दायरहरुले लगाएका छन् । निवेदकमध्येका एक नरेश पौड्यालले कुनै पनि सरकारी निकायमा नियुक्ति गर्न स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीका लागि बाटो खोलिएको बताए।

ग्लोबल नागरिकसँग उनले भने, ‘अरु सबैतिर स्नातक चाहिने, बोर्डमा चाहिँ प्लसटु पास भएर हुन्छ ?’ आफूहरुले यो नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेको उनको भनाइ छ ।

रिट निवेदन हाल्नेहरुमा पौड्यालसहित अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ रहेका छन् । रिटमाथि पहिलो सुनवाइ ३० साउनमा हुने भएको छ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com