सिरहा ।  सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडितपक्ष चिन्तित बनेका छन् ।

सिरहाको औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पदंश भएपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए । तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडितपरिवारले आरोप लगाएका छन् ।

advertisement

यस घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए । मञ्चका संयोजक रामरिझन यादवले भने,“उपचार गर्न आग्रह गर्दागर्दै बिरामी बेहोस भए, अनि रेफर गरियो । समयमै उपचार भएको भए ज्यान बच्थ्यो । अस्पतालको चरम लापरबाहीको नतिजा हो यो ।”

प्रदर्शनकारीले तीन बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष (आइसियू) तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ । गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवले गुनासो गरे ।

यसबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलप्रसाद कुशवाहाले अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिए । उनले भने, “बिरामीलाई तत्काल १० भाइल एन्टिस्नेक भेनम दिइएको थियो । तर, अवस्था गम्भीर भई भेन्टिलेटरको आवश्यकता देखिएपछि रेफर गर्नुपरेको हो ।”

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com