काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको पक्षमा आफ्नो अटल समर्थन दोहोर्याएका छन्। दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पूरा भएको अवसरमा बेइजिङमा आयोजित भव्य सैन्य परेडमा सहभागी भएपछि उनले बिहीबार राति राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका हुन्।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको वार्तामा राष्ट्रपति सीले उत्तर कोरियासँगको ऐतिहासिक मित्रतालाई चीनले विशेष महत्व दिने बताएका थिए। उनले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन चीन इच्छुक रहेको स्पष्ट पारे।
जवाफमा किमले उत्तर कोरिया सधैं चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा खडा हुने बताए। उनले भने,
“अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भए पनि प्योङयाङ–बेइजिङ मित्रता कहिल्यै बदलिँदैन।”
केसीएनए (उत्तर कोरियाको सरकारी समाचार एजेन्सी) का अनुसार दुवै नेताले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा साझा हितको सुरक्षा गर्न रणनीतिक सहकार्यलाई बढाउने, उच्चस्तरीय सम्पर्कलाई निरन्तरता दिने र संवादलाई संस्थागत बनाउने विषयमा सहमति जनाए।
किम बिहीबार राति नै बेइजिङबाट स्वदेश फर्किएका थिए। उनको बिदाइमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता काई छी र विदेशमन्त्री वाङ यी सहभागी थिए। उत्तर कोरियाली मिडियाले यस भ्रमणलाई दुई देशबीचको राजनीतिक विश्वास र रणनीतिक सहकार्यलाई थप गहिरो बनाउने घटनाका रूपमा चित्रण गरेको छ।
यो भ्रमण किमको २०२३ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि पहिलो विदेशी यात्रा थियो। बेइजिङमा रहँदा उनले पुटिनसँग पनि छुट्टै वार्ता गरेका थिए। पुटिनले युक्रेनको कुर्स्क क्षेत्रको रक्षामा उत्तर कोरियाली सेनाले देखाएको योगदानका लागि धन्यवाद दिँदै किमलाई प्रशंसा गरेका थिए।
किमले त्यसलाई “भाइबीचको सहयोग” भनेर व्याख्या गर्दै आगामी दिनमा पनि समर्थन जारी रहने संकेत दिएका थिए।
बेइजिङको परेडमा सी, पुटिन र किम एकसाथ हात मिलाउँदै अघि बढेको दृश्यले विश्वभर चासो पायो। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती नेताहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए। तर त्यसबारे क्रेमलिन र बेइजिङ दुबै तर्फबाट अस्वीकार भएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया