काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्कृष्ट शिक्षा प्राप्त गर्न अब विदेश जानुपर्ने धारणा खारेज भएको बताएका छन्। उनले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध भएको उल्लेख गर्दै डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे।
क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सिंहले भने, “यहाँका विद्यार्थी शिक्षित मात्र नभई सक्षम, दक्ष र प्रतिस्पर्धी छन्। स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने प्रमाण यो क्याम्पसले देखाएको छ।”
उनका अनुसार ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस हाल करिब ७०० विद्यार्थीको शैक्षिक थलो बनेको छ, जुन आफैँमा एक ऐतिहासिक उपलब्धि हो। उनले क्याम्पसले नारी शिक्षासँगै समग्र शैक्षिक क्षेत्रमा गुणस्तरीय योगदान पुर्याएको उल्लेख गर्दै हाल देशका ६० भन्दा बढी जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहेको बताए।
सिंहले भने, “यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थी विभिन्न आयोग, सरकारी निकाय र निजी क्षेत्रमा सफलतापूर्वक संलग्न छन्। यसले यहाँको शिक्षाको स्तर स्पष्ट गर्छ।” उनले विद्यार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सुदृढीकरणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
क्याम्पस प्रमुख अपराजिता अर्यालले विविध चुनौतीबीच पनि संस्थाले देशभरमा आफूलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको बताइन्। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र लामो योगदान गरेका प्राध्यापक–कर्मचारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको क्याम्पस प्रशासनले जनाएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया