काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि पार्टीले गलत गर्दैन, बरु पार्टीमा आबद्ध व्यक्तिले गल्ती गर्दा त्यसको जिम्मेवारी व्यक्तिले लिनुपर्ने बताएका छन्।
शनिबार नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिको आयोजनामा भएको ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीमा उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए। ‘कांग्रेस स्थापना कालदेखि नै राष्ट्रिय पार्टी हो। व्यक्तिले गरेको गल्तीको बोझ पार्टीले बेहोर्दैन, जस्ले गल्ती गर्छ उसैले भोग्नुपर्छ,’ थापाले भने।
महामन्त्री थापाले आज पनि बीपी कोइरालाका विचार र सिद्धान्त सान्दर्भिक रहेको भन्दै पार्टी र अग्रज नेताले त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिए।
‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। सरकारमा बस्नु वा नबस्नु ठूलो कुरा होइन। चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने प्रवृत्ति त्याग्नुपर्छ,’ उनले स्पष्ट पारे।
कार्यक्रममा कांग्रेस काठमाडौँ महानगर–३० का सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडा लगायतका नेताले बीपी कोइरालाको योगदान र वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना विचार व्यक्त गरेका थिए।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया