काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना दक्षिण कोरियाको भ्रमणमा जाने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ। सीएनएनका अनुसार ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ जान सक्ने देखिएको हो।
यसै क्रममा ट्रम्पले दक्षिण कोरियामा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको पनि विभिन्न रिपोर्टहरूमा उल्लेख छ। यद्यपि ह्वाइट हाउसले यसबारे आधिकारिक घोषणा गरेको छैन।
सीएनएनले ट्रम्प प्रशासनका अधिकारीहरूको भनाइ उद्धृत गर्दै ट्रम्प र उनका सल्लाहकारहरू एपेक व्यापार मन्त्रीहरूको बैठकका लागि तयारीमा जुटिरहेको जनाएको छ। अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुवातसम्म दक्षिण कोरियाको ग्योङजुमा हुने उक्त शिखर सम्मेलनलाई ट्रम्प–सी भेटवार्ताको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको बताइएको छ।
तर, बैठकबारे गम्भीर छलफल भइरहेको भए पनि कुनै ठोस योजना भने अझै बनेको छैन। गत महिना फोन वार्ताका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई श्रीमतीसहित चीन भ्रमण गर्न निम्तो दिएका थिए, जसमा ट्रम्पले सहमति जनाए पनि भ्रमणको मिति तोकिएको थिएन।
त्यस्तै, ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि भेट हुन सक्ने सम्भावना रहेको समाचार आएका छन्। तर, किम एपेक शिखर सम्मेलनमा सहभागी हुने वा नहुने विषय भने अझै निश्चित भएको छैन।
गत हप्ता वाशिंगटनको भ्रमणमा आएका दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पलाई एपेक शिखर सम्मेलनमा सहभागी हुन आधिकारिक निमन्त्रण दिएका थिए। सी र किम दुवैसँग सम्बन्ध तनावपूर्ण रहेको वर्तमान अवस्थामा ट्रम्पको सम्भावित दक्षिण कोरिया भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले विशेष ध्यानका साथ हेरेको छ।
यसअघि, तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा राष्ट्रपति सीले उत्तर कोरियाली नेता किम, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। उक्त बैठकपछि अमेरिकामा चर्को आलोचना भएको थियो। ट्रम्पले सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया