काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् ।

ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् ।

बालेन भन्छन, ‘‍‍‍एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन।’

आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण भनेका छन् ।

‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ’ उनले भनेका छन् ।

 

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com