काठमाडौं । चरम भ्रष्टाचार, परिवारवाद र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएको जेन–जी पुस्तामाथि प्रहरीले गरेको बलपूर्वक नियन्त्रणका क्रममा राजधानी काठमाडौं रगताम्य बनेको छ। निरन्तर ६ घण्टासम्म चलेको झडपमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना युवाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्।

शान्तिपूर्ण आन्दोलनदेखि रगताम्य संघर्षसम्म

advertisement

बिहान माइतीघर मण्डलाबाट सुरु भएको जेन–जी युवाहरुको शान्तिपूर्ण प्रदर्शन संसद भवन क्षेत्र पुग्दा तनावग्रस्त हुन पुगेको थियो। सामाजिक सञ्जाल दर्ता नगरेको नाममा सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतका २६ प्लेटफर्म बन्द गरेपछि असन्तुष्ट युवाहरू सडकमा उत्रिएका थिए। जसमा भ्रष्टाचार, परिवारवादको विषय उठाइएको थियो।

सुरुवातमा नारा–जुलुसमै सीमित आन्दोलन संसद भवन अगाडि सुरक्षा घेरा तोड्ने प्रयाससँगै हिंसात्मक मोडमा पुगेपछि प्रहरीले पानीको फोहरा, अश्रुग्यास र रबर बुलेट हान्यो। तर, केही बेरमै प्रहरीले जेन-जीहरु माथी सिधा गोली बर्साउन थाल्यो।

सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, काठमाडौं मेडिकल कलेजलगायतका अस्पतालहरू घाइतेले भरिएका छन्। अस्पताल स्रोतका अनुसार दर्जनौं युवाले उपचारकै क्रममा प्राण गुमाएका छन्। विभिन्न अस्पतालका शवहरूको संख्या हालसम्म १९ पुगेको अस्पतालले पुष्टि गरेको छ। धेरै घाइते अझै पनि गम्भीर अवस्थामा रहेका छन्।

सरकारद्वारा आफ्नो बचाउ र जनआक्रोश तिव्र

सरकार र प्रहरी प्रशासनले ‘भीड नियन्त्रण’ गर्न बल प्रयोग भएको दाबी गर्दै संसद भवन र संवेदनशील निकायलाई जोगाउन कदम चालेको बताएको छ। तर, प्रत्यक्ष गोली प्रयोगको आदेश कसले दिए भन्ने प्रश्न अनुत्तरित छ।

प्रदर्शनलाई ‘घुसपैठ भएको आन्दोलन’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीलाई दोषारोप गरे पनि सडकमा उत्रिएका हजारौं युवाले सरकारलाई “हत्यारा शासक” को संज्ञा दिएका छन्।

मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय दबाब

राष्ट्रिय मानवअधिकार आयोगले अत्यधिक बल प्रयोग नगर्न सुरक्षा निकायलाई आग्रह गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ। एमनेस्टी इन्टरनेशनललगायत अन्तर्राष्ट्रिय निकायले तत्काल निष्पक्ष अनुसन्धान र दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब दिएका छन्।

राजनीतिक कम्पन

रगताम्य घटनापछि सरकारभित्रै असन्तोष देखिन थालेको छ। गृहमन्त्री लेखकले राजीनामा दिएका छन् भने विपक्षी दलहरूले प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारीसहित तत्काल पदत्याग गर्नुपर्ने आवाज उठाएका छन्।

राजधानीमा मात्र होइन्। जेन–जी पुस्ताले सरकारविरुद्ध देशव्यापी प्रतिरोधलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com