नेपाली समाज आज शोक, आक्रोश र लज्जाले काँपिरहेको छ। आफ्नै सरकारको गोलीले विद्यालयको ड्रेसमा सजिएका बालबालिकाको ज्यान लिने यो दिन लोकतान्त्रिक इतिहासकै सबैभन्दा कालो अध्याय बन्न पुगेको छ। राज्य, जसले नागरिकको जीवन रक्षा गर्नुपर्ने हो, त्यही राज्य आफैं हत्याराको रूपमा उभिएको छ।
यी विद्यार्थीहरूको अपराध के थियो? उनीहरूले केवल “सुशासन” मागेका थिए। उनीहरूले केवल भविष्य खोजेका थिए। उनीहरूले केवल आफ्नो पुस्ताको आवाज बुलन्द पारेका थिए। तर जवाफ स्वरूप आयो— ‘बन्दुकको गोली’।
यो नेपालको लोकतन्त्रमाथिको हत्या हो। यस्तो असंवेदनशील, अमानवीय र क्रूर राज्यको हृदयभित्र अझै पनि जनताको पीडालाई बुझ्ने अंश बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न उठेको छ।
प्रधानमन्त्रीदेखि सुरक्षानिकायसम्म सबैको हातमा अहिले निर्दोष युवाको रगत छ। जेन-जी माथिको राज्यको बर्बरता आकस्मिक गल्ती होइन, यो योजनाबद्ध राज्यआतंक हो।
जनताले चुनेको सरकार आफ्ना नागरिकमाथि बन्दुक ताक्छ भने त्यो लोकतान्त्रिक होइन, तानाशाही हो। यो आचरणले नेपाललाई उत्तर कोरियाली शैलीको निरंकुशताको दिशामा धकेल्ने संकेत दिएको छ।
आजको पीडित पुस्ता Gen Z हो । डिजिटल पुस्ता, परिवर्तन खोज्ने पुस्ता । यो पुस्तालाई “खतरा” ठान्ने सरकार आफैं खतरा बनेको छ। युवामाथि भएको आक्रमण अन्ततः मुलुककै भविष्यमाथि भएको आक्रमण हो।
सडकमा उभिएका विद्यार्थीहरूले “सुशासन र भविष्य” माग्दा गोली पाएका छन् भने यो सत्ताले अब “शासन गर्ने नैतिक अधिकार” गुमाइसकेको छ।
नेपालमा आज मानवअधिकारमाथि नाङ्गो आक्रमण भएको छ। संयुक्त राष्ट्रसंघदेखि अन्तर्राष्ट्रिय मानवअधिकार आयोगसम्म सबैले यसलाई बेवास्ता गर्ने छुट छैन। “बच्चाहरूलाई गोली हान्ने सरकार” विश्व इतिहासमा कहिल्यै लामो समय टिकेको छैन।
युवाको रगतले भिजेको सडक अहिले पनि प्रश्न गरिरहेको छ— “के यो देश अझै हाम्रो हो? कि शासकहरूको निजी सम्पत्ति ?”
राज्यद्वारा गरिएको यो हत्या केवल न्यायालय वा अनुसन्धान समितिको फाइलमा पुरिएर बस्ने विषय होइन। जिम्मेवार मन्त्री, सुरक्षा निकायका प्रमुख र आदेश दिने पदाधिकारीलाई तुरुन्त पदमुक्त गर्नुपर्छ। निष्पक्ष अन्तर्राष्ट्रिय छानबिन आवश्यक छ। र, जनताले फेरि आवाज उठाउनै पर्छ, किनभने मौनता भनेको राज्यआतंकको सहमति हो।
आज जुन विद्यार्थीले सडकमा आफ्ना जीवनको मूल्य चुकाए, उनीहरू केवल नाम मात्रका व्यक्ति होइनन्, उनीहरू नेपालको भविष्य हुन्। राज्यले उनीहरूको हत्या गरेर केवल उनीहरूको जीवन अन्त्य गरेको छैन, आफ्नै वैधानिकता, आफ्नै नैतिकता र आफ्नै अस्तित्वमाथि गोली प्रहार गरेको छ।
इतिहासले देखाएको छ— जनता जित्छन्, तानाशाह हार्छन्। र, नेपालका युवा विद्यार्थीको रगतले लेखेको यो अध्याय परिवर्तनको सङ्ग्रामको आगो बन्नेछ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया