काठमाडौं । गर्भनर विश्व पौडेलले भाबुक स्टाटस लेखेका छन् । आफ्नो जल्दै गरेको घरको भिडियो सार्जनिक गर्दै उनले आफ्नो श्रम र पसिनाले बनाएको घर जलेको उल्लेख गरे। उनले आफूले  योजना आयोगको उपाध्यक्ष हुनुअघिनै  छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर भएको बताएका छन् ।

जलिरहेको घर सबैले देखेपछि अरु छलफल गर्न नपर्ने लागेर आफूले भिडियो शेयर गरेको बताए । उनले बन्दै गरेको नयाँ सरकारलाई आफूले कसैसँग दुई  पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गर्न अनुरोध गरे । आफूले गभर्नरको पद कस्तो अवस्थामा लिएको भन्ने बारे सबैलाई थाहा भएको उल्लेख गरे ।

यस्तो छ उनको स्टाटस 

यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै  छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकि छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ। गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देविदेवताका मुर्ती , भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो।

अस्ति यो घर जल्नु दुइ घण्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राती मेरी  छोरी  र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन।त्यो दिन हामि सबै  ‘शरणार्थी’ भयौँ।किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए। धेरै साथिहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई  सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com