देशमा बढ्दो राजनीतिक अन्योलका कारण उत्पन्न भ्रष्टाचार, विकृति र कुशासन, साथै अप्राकृतिक गठबन्धन सरकारको दम्भ र निरंकुशताको विरोधमा आम जनमानसमा फैलिएको असन्तुष्टिको परिणाम स्वरूप जेन-जी आन्दोलन भएको हो। यस आन्दोलनका क्रममा भाद्र २३ गते भएको प्रदर्शनमा निर्दोष नागरिकको ज्यान जानु अत्यन्तै दुःखद घटना हो, जसलाई सारा नेपालीले नजिकबाट महसुस गरेका छन्।
भाद्र २४ गतेका घटना र सुरक्षा व्यवस्था माथि प्रश्न
भाद्र २४ गते देशमा जुन तरिकाले आगजनी र तोडफोडका घटनाहरू भए, त्यो पनि दुःखद र अस्वीकार्य छ। यस्ता घटना हुनु हुदैनथ्यो र यसले सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको छ। यी घटनाहरू कसरी र किन भए, कसको स्वार्थमा भए, भन्ने कुरा निष्पक्ष छानबिनबाट खुल्दै जानेछ र दोषी माथि कारबाही पनि हुने नै छ।
यसै सन्दर्भमा, जेलबाट कैदीबन्दी भाग्नु अर्को दुःखद घटना हो। यो घटनाले सरकार र सुरक्षा निकायको कमजोरी र क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यसको जवाफ दिनु पर्नेछ।
रवि लामिछाने र भ्रमपूर्ण आरोप
यही सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि सामाजिक सञ्जालमा भइरहेको आरोप-प्रत्यारोप भ्रमपूर्ण छ। उहाँलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भनी जानकारी गराएको र उहाँ स्वयं कारागार फर्कन तयार रहेको बताउनु भएको छ। उहाँ नख्खु जेलमा हुनु हुन्थ्यो भने देशका धेरै कारागारबाट कैदीबन्दी भागेका छन्। यसले सरकारको सुरक्षा कमजोरी स्पष्ट देखाउँछ। यस घटनाको सत्य-तथ्य छानबिन हुने नै छ।
यस संवेदनशील समयमा, राजनीतिक स्वार्थ त्यागेर शान्तिपूर्ण समाधान तर्फ लाग्नु र सामाजिक सद्भाव कायम राख्नु सबैको जिम्मेवारी हो। तर, अहिले पनि केही व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थको राजनीतिमा लागिरहेको देखिन्छ।
साथीहरू, आन्दोलनको मर्म नमारौ!
रवि लामिछाने जेलबाट छुटेको कुरा ठूलो होइन, तर आन्दोलनको मर्म र उद्देश्य खेर जानु हुदैन। हामीले निर्दोष नागरिकहरूको बलिदानलाई बिर्सन मिल्दैन।
रवि लामिछाने आफै कारागार फर्कन तयार रहेको बताइसक्नु भएको छ। यस्तो अवस्थामा उहाँ माथि भ्रम फैलाएर आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको छ। केही तत्त्वहरू पुरानै तरिकाले सक्रिय हुन खोजि रहेका छन्। यसमा हामी सबै, विशेषगरी सचेत नागरिक र जेन-जी पुस्ता सचेत रहनुपर्छ।
हामी सच्चिन्छौं भन्दै ठूला पार्टीहरूबाट विज्ञप्ति र भिडिओ सन्देशहरू आइरहेका छन्। तर, के यो आत्मालोचना उनीहरूले पहिले नै, अर्थात् भदौ २२ गतेको दिन नै देखाएका भए यो अवस्था आउने थियो र? केवल ‘हाम्रो गल्ती भयो, हामी सच्चिन्छौ’ भन्दैमा पुग्छ? के सरकारमा रहेकाले यसको जिम्मेवारी लिनु पर्दैन?
सरकारमा रहेकाहरू असक्षम भएपछि यस्तो विषम परिस्थिति उत्पन्न भएको हो। अहिले आएर जेल प्रशासनले रवि लामिछानेलाई सुरक्षा दिन नसक्ने, ‘तिमी बाहिर जाऊ’ भन्ने, अनि पछि रविले सबै कैदी भगाए भनेर दोष लगाउने? देशै भरि बाट कैदी-बन्दीहरू भागेका छन्। यसको सम्पूर्ण जिम्मेवारी र दोष रवि माथि लगाएर निरङ्कुश सरकार र ती तीन ठूला पार्टीहरू चोखिन खोज्दै छन्। यो कस्तो पद्धति हो? यसको विरुद्धमा हामी सबै साथीहरू सचेत हुन जरुरी छ।
(अम्गाई राजनितिक तथा समसामयिक विषयमा कलम चलाउँछन)
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया