विराटनगर । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटको शाखामा चार जनाको शव फेला परेको छ।
मंगलबार भएको आगलागी अझै पूर्ण रूपमा निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एक र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
जलेका अवस्थामा भेटिएका शवको पहिचान अझै खुलिसकेको छैन। जबेगुका अनुसार, प्रारम्भिक अनुसन्धानले यी शव आगलागीको समयमा लुटपाट गर्न भित्र गएका व्यक्तिहरूको हुन सक्ने संकेत देखाएको छ।
शव पूर्ण रूपमा जलेका कारण लिंग वा अन्य पहिचानयोग्य संकेत छुट्ट्याउन सकिएको छैन। मंगलबार राति सुपरमार्केटमा तोडफोड र लुटपाटको क्रममा केही व्यक्ति भित्र फसेको भन्ने हल्ला फैलिएको थियो। प्रहरीले मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया