काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हालैको जेन–जेड आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भागेका कैदीबन्दीहरूले समाजमा असुरक्षा र त्रास फैलाएको भन्दै यो विषय गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ।

आयोगका अनुसार भागेका कैदीबन्दीहरूले अपराध पीडितहरूको अधिकारमा असर पुर्‍याएका छन् र विशेष गरी महिला, बालबालिका तथा पीडित परिवारमा मानसिक तनाव र भय सिर्जना भएको छ। त्यसैले सुरक्षा निकायलाई उनीहरूको खोजी र नियन्त्रण कार्यलाई तीव्रता दिन तथा कानुनी शासनको सम्मान गर्न आग्रह गरिएको छ।

advertisement

त्यस्तै, आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ। आयोगले यस्तो कार्यको दुरुपयोगले हिंसात्मक गतिविधि बढ्ने भएकाले यसलाई गैरकानुनी रूपमा व्याख्या गरेको छ।

आयोगले आम नागरिकलाई पनि सहयोगको अपिल गर्दै भनेको छ, ‘आफ्नो टोल–छिमेकमा भागेका कैदीबन्दी वा बालसुधार गृहबाट भागेका व्यक्ति देखिएमा तत्काल नजिकको प्रहरीलाई जानकारी गराउनुहोस्। साथै, नियन्त्रणमा रहेका हतियार वा पोशाकको दुरुपयोग भएको खवर पाएको खण्डमा पनि सम्बन्धित निकायलाई सूचित गर्नुहोस्।’

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com