जेन-जी एउटा उमेर समूह मात्र होइन, जीवनको सबैभन्दा महत्त्वपूर्ण भोगाइको यात्रा हो। जहाँ शिक्षा, भविष्य, रोजगारी, लक्ष्य, विवाह, आर्थिक चलायमानको सुरुवात आदि धेरै कुरा हुन्छ। यही उमेर समुह हो ‘जेन-जी’ । तर, विडम्बना हामी धेरै युवा यो भोगाईबाट माथि उठेकै छैनौँ । त्यसैले ४० वर्षको युवा पनि जेन-जी नै हो।
जेन-जी सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका उमेर समूह, जसले शिक्षादेखि जीवनको अन्तिम योजनासम्म तयार गरी सक्नु पर्ने हो। शिक्षा छ, तर उपयोग छैन्। भविष्य आफै अन्योल छ। रोजगारी काहाँ पाइन्छ थाहा छैन। सुशासन छैन, भ्रष्टाचार बिना काम हुँदैन। प्रशासन र राजनीतिबाट भाग्न मात्र मन लाग्छ। कुनै एक पार्टीको झोले नभएसम्म समाजमा एक्लो पारिन्छ। यस्तै पीडित र चिन्तित समूह हो जेन-जी । भोगाइ र पिडाको हिसाब हेर्ने हो भने जेन-एक्स जेन-वाई आदि सबै जेन-जी नै हुन्।
सुरुवाती आन्दोलनमा बहुसङ्ख्यक उमेर समूह जेन-जी थिए। तर, २३ गतेको घटनाले जेन-जी पीडित समूह बन्यो । जेन-जी भित्र जेन-झोले, जेन-अपराधी, जेन-फाइदावादी जेन-स्वार्थी पनि थिए। २४ गते जे हुनु थियो त्यो भयो तर जे नहुनु थियो त्यो पनि भयो। वास्तविक जेन-जीहरूलाई पनि अपराधी बनाइएको थियो त्यस दिन । जेन-जीहरूको आवेगको फाइदा उठाइएको थियो त्यस दिन । जसको वास्तविकता बिस्तारै खुल्दै जानेछ।
म फेरि भन्छु- जेन-जी उमेर समूह मात्र थिएनन् एक पीडित र चिन्तित समूह थिए। जसले संसार देखेका छन्, विश्व राजनीति हेरेका छन्, कानुन पढेका छन् । अभ्यास छैन होला तर जेन-जीको नियति खराब छैन। जेन-जीसङ्ग आवेगसँगै विवेक छ।
हावा कुरा गर्छस् ? कहाँ छ विवेक ? जसले संसद, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र उद्योगपतिका संरचनाहरू जलाए। सम्भवत: नेपालको एक वर्षको आर्थिक बजेटलाई एक दिनमै खरानी बनाए । त्यो सँग केवल आवेग मात्र छ भन्नुहुन्छ होला।
म भन्छु- तपाईंलाई २३ गतेको घटना सुन्दा र देख्दा आवेग जागेको थिएन ? तपाईँ जुनसुकै उमेर समूहको हुनुहोस्। आफ्नो आवेगलाई रोक्न कति सक्नुहुन्छ ? आफै मनन गर्नुस्। १८ वर्ष हाम्रो बजेट नेताले सिध्याए, एक वर्ष हाम्रो बजेट हामी आफैंले सकायौं । हो, मेरो आवेगको फाइदा अर्कोले उठाएकै हो। जहाँ मलाई जानु थिएन् त्यहाँ पुर्याएको हो। यिनिहरुले आफ्नो हातबाट आफैं आगो लगायो । इतिहासमा बदनाम मेरो जेन-जी समूहलाई बनायो।
यो विषयमा म बढी बोल्दिन्। छानबिन आयोग बोल्ला । त्यसले एक-एक सबैलाई छानबिनको घेराभित्र ल्याउला । अनि त्यही समूहको बदनामलाई त्यही समूहले मेटाउला।
डर सबैले मान्नु पर्छ। तर, गलत काम गर्दा मात्र । प्रशासनिक गल्तीहरू सच्याउनु पर्छ । नेताको नेतृत्व र स्वार्थ फेरिनुपर्छ। राजनीतिलाई साँच्चिकै समाजसेवाको रूपमा योगदान गर्नुपर्छ।
जेन-जीको अबको कदम
जेन-जीले सुशासन, स्थिर सरकार र चलायमान अर्थतन्त्रको परिकल्पना गर्छ। अब यसले निर्वाचनमा आफ्नो योग्य उम्मेदवारलाई जिताउँछ। पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, समावेशिता, कानुनी शासन, सहभागिता, समानता, प्रभावकारिता र दक्षता सहितको कर्मचारीतन्त्र र स्थिर सरकार बनाउने प्रयास गर्छ। आफ्नो उम्मेदवारलाई प्रश्न गर्छ योग्य र दक्षलाई मात्र निर्वाचित गराउँछ। विश्वको राजनीति अमेरिका, चीन, फ्रान्स, बेलायत, भारत, सबै पढ्छ र आफ्नो माटो सुहाउँदो नीति निर्माणको लागि विज्ञ समूहलाई सल्लाह दिँदै संधै एक सक्रिय प्रतिपक्ष र दबाव समूह बन्छ।
लेख्ने कुरा धेरै थिए, लामो पढ्दा अल्छी लाग्न सक्छ होला त्यसैले लेखिन, यो मेरो भावना मात्र हो। यसको निष्कर्ष जेन-जी हामी सबै हौँ। सही व्यक्ति र उम्मेदवार निर्धक्क साथ अगाडि आउनुपर्छ। जेन-जीको क्रान्ति र इतिहासलाई सफल बनाउनु छ।
- (लेखक पौडेल राजनिती शास्त्रका विद्यार्थी हुन्। उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन्।)
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया