कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरी दुई महिना अगाडि घरायसी काममै व्यस्त भए पनि आम्दानी नहुँदा मानसिक तनावमा बस्थिन्। तर, सहकारी संस्थाको पहलमा २५ दिने तालिम लिँदै उनले अहिले केराको रेसाबाट कपडा उत्पादन गर्दै आत्मनिर्भर बन्ने यात्रा सुरु गरेकी छन्।
धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २५ दिने निःशुल्क तालिम र ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उपकरणले जुगरानीसहितका आठ जना महिलालाई उद्यममा जोडेको हो। तालिमपछि उनीहरूले केराको खेर जाने बोट (थाम) बाट रेसा उत्पादन गरी कपडा बुन्न थालेका छन्।
‘पहिले विश्वासै गर्न सकिन्थ्यो कि केराको थामबाट कपडा बन्छ, तर अहिले आफैं कपडा बनाउन थालेकी छु,’ जुगरानी भन्छिन्, ‘परिवारले पनि विश्वास गर्न थालेको छ, आत्मनिर्भर भएको महसुस हुन्छ।’
यस्तै टीकापुर–८ की कमला साउद भन्छिन्, “पहिले घरमै बस्दा दिन बिताउन मुस्किल हुन्थ्यो, अहिले त समय नै पुग्दैन।” उनीहरू उत्पादन गरेको कपडा काठमाडौँको अल्लो बजारले प्रतिमिटर तीन सय रुपैयाँमा खरिद गर्दै आएको छ। माग धेरै भए पनि आपूर्ति गर्न नसकिएको महिलाहरूको गुनासो छ।
वडा नं. ७ की सकुन्तला चौधरीले आधुनिक मेसिन भए उत्पादन बढाउन सकिने बताइन्। ‘एकै कम्पनीलाई पनि मागअनुसार दिन सकिएको छैन,’ उनले भनिन्।
सहकारीले दुई वर्षदेखि केराको थामबाट रेसा उत्पादन गर्दै आएको छ। सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार बजारमा रेसाको माग अत्यधिक भए पनि आपूर्ति गर्न नसकिएको छ। ‘कच्चा पदार्थको अभाव छैन, तर उत्पादनले माग धान्न सकेको छैन,’ उनले भने।
महिलाहरूले सरकारसँग थप सहयोगको अपेक्षा गरेका छन्। उनीहरूको भनाइमा, आवश्यक सीप र आधुनिक मेसिन पाउन सके कपडासँगै टोपी, झोला, चप्पल, जुत्ता र गुन्द्रीजस्ता सामग्री उत्पादन गरी थप आम्दानी गर्न सकिन्छ।
टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढीमा केराखेती भइरहेको छ। उत्पादनपछि खेर जाने केराका बोट (थाम) बाट रेसा निकालेर कपडा उत्पादन गर्ने महिलाहरू आत्मनिर्भर बन्न थालेका छन्। उनीहरूले स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखे रोजगारी सिर्जना थप हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया