काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जनजीवनलाई सामान्य अवस्थामा फर्काउन र नागरिक अधिकार सुनिश्चित गर्न सबै तहका सरकार तथा सरोकारवालालाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
आयोगले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा जेन-जी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न परिस्थितिले शान्ति-सुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै तत्काल कदम चाल्न ध्यानाकर्षण गराएको छ।
आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुनुका साथै राज्यका संरचनामा क्षति पुगेको उल्लेख गर्दै आयोगले त्यसको पुनःनिर्माण र मर्मतसम्भारका लागि आवश्यक बजेट तथा स्रोत साधन सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ।
‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन, न्याय, स्वास्थ्य, शिक्षा, सञ्चार, प्रशासनिक सेवा र अन्य अत्यावश्यक सेवाहरू प्रभावकारी बनाउन विशेष ध्यान दिन जरुरी छ,’ आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले वर्तमान संवेदनशील अवस्थालाई सम्बोधन गर्न संयमित व्यवहार, सहकार्य र साझा प्रयास आवश्यक रहेको भन्दै सबै सरोकारवालालाई सक्रिय योगदानका लागि अपिल गरेको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया