काठमाडौं ।‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अहिलेसम्म ६ हजार ९८४ जना पुनः कारागार फर्किएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ जना कैदी फरार छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्ला दुई दिनमै ६५६ जना कैदीबन्दी फर्किएका छन्। उनका अनुसार फरार भएकामध्ये धेरै कैदी आफैं फर्किरहेका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर ल्याएको छ।
गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा २८ वटा कारागार र ९ वटा सुधारगृहमा तोडफोड तथा आगजनी भएपछि कैदीबन्दी समूहगत रूपमा भागेका थिए। विभागका तथ्याङ्कअनुसार त्यतिबेला १४ हजार ५५६ जना कैदी फरार भएका थिए भने १५ हजार ५२५ जना भने कारागारमै रहेका थिए।
बालसुधार गृहबाट मात्र ९६३ जना भागेका थिए। त्यस्तै प्रहरी हिरासतमा रहेका २ हजारभन्दा बढी आरोपी पनि त्यही घटनापछि फरार भएका छन्। खोजतलास जारी राखिएको विभागले जनाएको छ।
सो घटनामा १० जना कैदीको मृत्यु भएको पनि विभागले पुष्टि गरेको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया