काठमाडौं । टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन्। आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन्।

गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।

advertisement

‘गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टाँगेर बसेका थियौँ,’ उनले भने, ‘वर्षात तथा जाडोको समयमा जीवनयापन गर्न कष्टकर थियो। घर बनेपछि हामीलाई सहज भएको छ।’

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइदिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताए। ‘घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ,’ उनले भने, ‘गरिबीका कारण जीवन निकै कष्टकर थियो। घर बनाएर बस्न सक्ने अवस्था थिएन। राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ। सरकारले घर बनाइदिएपछि जीवन गुजार गर्न सहज बनेको छ। घर पाउँदा निकै खुसी लागेको छ।’

घर नहुँदा चिसोका कारण दैनिकजसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताए। सरकारले आर्थिक अवस्था कमजोर भएका घरविहीन दलित परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो। सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ। ‘राज्यको तहबाट १० दलित परिवारले नयाँ घर पाएका छन्,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘आर्थिक रूपमा अतिविपन्न परिवारले घर पाएका हुन्। आर्थिक अवस्था कमजोर भएकाको घर निर्माणको लागि सिफारिस गरेको थियौँ।’
यी घर निर्माण सम्पन्न भएपछि पुनः अन्य तीन विपन्न परिवारको आवश्यक प्रक्रिया पूरा गरेर पठाएकोमा हालसम्म बजेट प्राप्त नभएको उनले जानकारी दिए।

  • रासस

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com