नवलपरासी ।  नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो ।

गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिए । ‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भने,‘प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।’

advertisement

संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । ‘गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भने,‘यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’

गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वषृदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । ‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भने ।

यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन् ।

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

 

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com