काठमाडाैं । निरन्तर वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज हुँदै हुने सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ।

बिहान ९ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५२५ क्युसेक प्रति सेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

advertisement

उच्च जोखिमका कारण स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म सबै प्रकारका सवारीसाधनको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो।
‘पानीको बहाव अत्यधिक बढेकाले सुरक्षाको दृष्टिले कोशी ब्यारेज हुँदै हुने सबै आवागमन रोकिएको छ,’ सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले बताए।

उनका अनुसार ब्यारेजका सबै ढोका खोले पनि पानीको मात्रा घट्ने कुनै संकेत नदेखिएपछि सम्पूर्ण आवागमन स्थगित गरिएको हो।

कोशी ब्यारेज सुरुआती समयमा करिब ८ लाख क्युसेक पानीको बहाव झेल्ने क्षमता राख्थ्यो। तर पछिल्ला वर्षहरूमा नदीको माथिल्लो भागमा बालुवा र गाद जम्दा त्यस क्षमता घट्दै गएको छ। अहिले थोरै पानी बढ्दा पनि ब्यारेज र आसपासका क्षेत्रमा खतरा उत्पन्न हुने अवस्था छ।

यसअघि १३ असोज २०८१ मा कोशी ब्यारेजमा ६ लाख ६१ हजार क्युसेक पानी मापन गरिएको थियो, जुन पछिल्ला ५६ वर्षयताको उच्चतम बहाव थियो। त्यतिबेला नदीको पानी ब्यारेजको पुलमाथिबाट बगेको थियो।

इतिहास हेर्दा, २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यसबेला नदीको बाढी कोशी गाउँपालिकाका चारवटा बस्तीमा पसेर ७ हजार ५६३ परिवार विस्थापित भएका थिए।

हालको अवस्थालाई हेर्दा स्थानीय प्रशासनले सबैलाई सतर्क रहन र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com