काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशभर छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सोमबार साँझ उनले काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको आकस्मिक अनुगमन गर्दै समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्तिको स्थिति, विद्युत् निर्यात तथा बाढी–पहिरोबाट प्रभावित आयोजना सम्बन्धी विवरण बारे जानकारी लिए ।
उनले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउनका लागि आवश्यक नीतिगत र प्रविधिक सुधारका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गरी तत्काल लागू गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री घिसिङले बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा पुनःसञ्चालन गर्न आदेश दिए । साथै, मर्स्याङ्दी करिडोर (२२० केभी) र हेटौंडा–ढल्केबर (४०० केभी) प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राख्न र आगामी हिउँदको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी गर्न पनि निर्देशन दिए ।
अनुगमनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्था बारे मन्त्रीलाई जानकारी गराएका थिए ।
कार्यकारी निर्देशक सिलवालका अनुसार बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत तथा सेवा पुनःसञ्चालनका लागि प्राविधिक टोली परिचालन गरी काम भइरहेको छ ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया