काठमाडौं । देशका बुद्धिजीवी, लेखक, प्राध्यापक, पूर्वअधिकारी र सरोकारवाला नागरिकसहित ३० जनाले निष्पक्ष, विश्वसनीय र सुरक्षित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूलाई संयुक्त अपिल गरेका छन्।

भदौ २३–२४ गते जेन–जी पुस्ताद्वारा गरिएको विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरिसकेको छ। बुधबार जारी अपिलमार्फत नागरिक समाजका अगुवाहरूले संविधान, लोकतान्त्रिक मूल्य र जनसत्ता सुदृढ गर्न तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्।

advertisement

‘सरकारले राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरेर सबै पक्षलाई विश्वासमा लिएर विश्वसनीय वातावरण तयार गर्नुपर्छ,’ अपिलमा भनिएको छ। ‘अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको नेतृत्वमा लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, विधिको शासन, मानव अधिकार र नागरिक सर्वोच्चतालाई आधार मानेर जिम्मेवारी पूरा हुने हाम्रो विश्वास छ।’

अपिलमा देशको वर्तमान सुरक्षा अवस्थालाई गम्भीर चुनौतीको रूपमा चित्रण गरिएको छ। विज्ञहरूले लुटिएका हातहतियार, जलेका प्रहरी कार्यालय र जेलबाट भागेका कैदी–बन्दीका कारण देशमा भय र असुरक्षा फैलिएको उल्लेख गर्दै सरकारलाई तत्काल शान्ति र सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका छन्।

‘सुरक्षा निकायको मनोबल कमजोर बनेको छ, साधन–स्रोत र उपकरणको पनि घोर अभाव छ,’ विज्ञहरूले भनेका छन्, ‘सरकारले सुरक्षा संयन्त्रलाई बलियो, सक्षम र आत्मविश्वासी बनाउन तुरुन्त पहल गर्नुपर्छ।’

राजनीतिक दलहरूलाई पनि अपिलकर्ताहरूले बिना कुनै पूर्वसर्त आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, ‘निर्धारित अवधिभित्र निर्वाचन सम्पन्न नभए देश गम्भीर संवैधानिक संकटमा फस्नेछ।’

विघटित संसदका शीर्ष नेताहरूलाई नैतिक जिम्मेवारी लिई राजीनामा गर्न र नयाँ नेतृत्वको मार्ग खुला गर्न पनि उनीहरूले आह्वान गरेका छन्। ‘यो कुनै दल विशेषको कुरा होइन,’ अपिलमा भनिएको छ, ‘यो लोकतन्त्रलाई जनताप्रति उत्तरदायी र विश्वासिलो बनाउने आवश्यक कदम हो।’

त्यस्तै, दलहरूले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी जनभावनाअनुसार पार्टी पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गर्नुपर्ने सुझाव अपिलमा दिइएको छ। नयाँ नेतृत्वले नवयुवा पुस्ताको भावना, आकांक्षा र एजेन्डालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ।

भदौ २३ र २४ का घटनामा भएका सरकारी दमन, युवाको हत्या, अराजकता र आगजनीबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अपिलकर्ताहरूले माग गरेका छन्। उनीहरूले छानबिनको नाममा अपराधी उन्मुक्ति दिइए दण्डहीनताको संस्कृतिलाई अझ बल पुग्ने चेतावनी पनि दिएका छन्।

अपिलमा हस्ताक्षर गर्नेहरूमा अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, उत्तमबाबु श्रेष्ठ, कृष्ण खनाल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, चन्द्र किशोर, तारानाथ दाहाल, तुलानारायण साह, भोजराज पोखरेल, सञ्जीव उप्रेती, श्रवण मुकारुङ, युग पाठकलगायत ३० जना नागरिक अगुवाहरू छन्।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com