लहान ।  लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ ।

पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

advertisement

लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले भने, ‘कोही पनि नगरवासी आर्थिक अभावमा आँखाको समस्याबाट पीडित नहुन् भनेर हामीले यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । यसमा लागेको सम्पूर्ण खर्च नगरले बेहोर्ने छ । यस वर्ष पनि वडा नम्बर १५ बाट सुरुआत भइसकेको छ र नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिनेछ ।’

कार्यक्रममा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले ‘तमसो मा ज्योतिर्गमय’ भन्ने नारासहित अस्पतालले हरेक वर्ष करिब २५ लाख आँखाका बिरामीको उपचार गरिरहेको जानकारी दिए । उनले विभिन्न स्थानीय तहसँगको सहकार्यमा अस्पतालले दक्ष जनशक्ति र प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिइरहेको बताए ।

त्यसैगरी अस्पतालका प्रशासन प्रमुख अभिषेक रोशनले हालका दिनमा वृद्धि भएको मधुमेहका कारण आँखाका रोग विकराल बन्दै गएकाले हरेक छ महिनामा आँखाको जाँच गराउन आग्रह गरे । स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले समयमै आँखाको जाँच गरिए अन्धोपनबाट बच्न सकिने भएकाले सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com