काठमाडौं । अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरी प्रहरी प्रशासनले थाती राखेको छ।
अखिलको टोलीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो। २४ घण्टाभित्र निर्णय लिने भनिए पनि जाहेरी अस्पष्ट भएकाले प्रक्रिया अघि नबढाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए।
अखिलले जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायतका राष्ट्रिय सम्पदामा तोडफोड, निजी सम्पत्तिमा आगजनी र प्रहरीको हत्या गरेको आरोप लगाउँदै मेयर बालेन र सुधन गुरुङविरुद्ध जाहेरी दिएको थियो। जाहेरी प्रहरी परिसरले बुझेकै भए पनि दर्ता गरेको थिएन।
आज विज्ञप्तिबारे स्पष्टीकरण दिँदै प्रवक्ता भट्टराईले भने, ‘अखिलको जाहेरी स्पष्ट छैन र कानुनी रूपमा केरमेट देखिएको छ। त्यसैले दर्ता गरिएको छैन।’
उनका अनुसार मेयर बालेन र सुधन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ, जुन अभियन्ता युवराज सफलले दर्ता गर्न ल्याएका हुन्। तर त्यो जाहेरी पनि हालसम्म दर्ता भएको छैन।
भट्टराईले जेठ २३ र २४ गतेका घटनासम्बन्धी सबै जाहेरीहरू जाँचबुझ आयोगमा पठाइने जानकारी दिए। ‘अखिलको जाहेरी स्पष्ट नभएकाले अहिले केही निर्णय भएको छैन। यदि सच्याएर ल्याए भने त्यसलाई पनि आयोगमा पठाइनेछ,’ उनले भने।
यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी पनि प्रहरीले आयोगमा पठाइसकेको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया