काठमाडौं । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामा खिचिएको भिडियो आज सार्वजनिक हुने भएको छ। जोशीको परिवारले सन् २०२३ को अन्त्यतिर कैदमा रहेकै बेला खिचिएको भनिएको भिडियोको अंश आज सार्वजनिक गर्न लागेको हो।
‘होस्टेज फ्यामिली फोरम’ नामक बन्धक परिवारहरूको संगठनले उक्त जानकारी दिएको हो।
विपिन जोशी इजरायलमा कृषि अध्ययनका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका बेला अपहरणमा परेका थिए। उनी अन्य विद्यार्थीहरूसँगै अध्ययनरत अवस्थामा गाजामा आतंककारीहरूले लगेका थिए।
जोशीको अपहरणपछि केही सातापछि खिचिएको भिडियोको स्थिर तस्बिर यसअघि सार्वजनिक गरिएको थियो। उक्त तस्बिर इजरायली सेनाले प्राप्त गरेको भिडियो फुटेजबाट निकालिएको हो।
‘द टाइम्स अफ इजरायल’का अनुसार करिब ३० सेकेन्ड लामो उक्त भिडियो आज बेलुकी इजरायल समय अनुसार ७:५५ बजे (नेपाल समय राति १०:४० बजे) सार्वजनिक गरिनेछ।
भिडियो इजरायली सेनाले प्राप्त गरी गुप्तचर निकायमार्फत जोशीको परिवारलाई देखाइएको थियो। फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘गाजाबाट प्राप्त यो भिडियोले विपिन अझै जीवित रहेको हाम्रो आशालाई थप बलियो बनाएको छ।’
विपिन जोशी ती दुई बन्धकमध्ये एक हुन्, जसको अवस्थाबारे इजरायलले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ। यद्यपि, इजरायली सेनाले उनको मृत्यु पुष्टि गरेको छैन।
जोशीको परिवार र फोरम दुवैले विपिनको सकुशल उद्धारका लागि अन्तर्राष्ट्रिय समुदाय र इजरायली सरकारसँग पुनः सहयोगको अपिल गरेका छन्।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया