काठमाडाैं । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट छन् ।

भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन् । उनले भने ‘मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उनले सयपत्री फूलखेती गरेका छन् । सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आँफू सन्तुष्ट रहेको उनले बताए ।

advertisement

जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ । उनले भने ‘हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।’ यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो । अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उनले सुनाए । यही व्यवसायबाट परिवार चलाउने गरेको उनले बताए । पूर्खादेखि फूलखेती गर्दै आएकाले आँफूले पनि भरतपुर महानगरपालिका–७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उनले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताए ।

जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरुले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षमा सयपत्रीखेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।

उनले भने, ‘गतवर्ष फूलखेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या घटेको हो ।’ फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताए ।

उनका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उनले भने ‘क्षेत्रफल बढाएका थियौँ तर पानीले सोचे जस्तो भएन ।’ जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उनले बताए । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उहाँले बताउनुभयो । तिहारका लागि आवश्यक माला बाहिरबबाट खरिद गर्नुनपर्ने उनको भनाइ छ ।

  • रासस

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com