काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार भएका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा, जेएन–जी आन्दोलनको क्रममा सुन्धारा स्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट २४ भदौ राति फरार भएको खुल्न आएको हो। फरार भएको एक महिना बित्दा उनी अझै पक्राउ परेका छैनन् र कारागारमा फर्केका छैनन्।
कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरूको सूची सार्वजनिक गरेको छ जसमा लामाको नाम पनि समावेश छ।
४ चैत २०८१ मा टोखाबाट प्रहरीले लामा चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो। सो ट्रकसहित चालक लामा पनि पक्राउ परेका थिए। बरामद रकममा ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर समावेश थिए, जुन तत्कालीन मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबर थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धानले लामा र बरामद रकम, ट्रकसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाएको थियो। अनुसन्धानपछि रकमको मालिक सिन्धुपाल्चोककै नारायण पौडेल भएको पुष्टि भएको थियो।
भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय ऐन २०१९ अन्तर्गत २ वैशाखमा मुद्दा दायर गरिएको थियो। भरिया लामा भने पुर्पक्षका लागि कारागारमा राखिएका थिए।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार













प्रतिक्रिया