काठमाडौं । वर्षायाममा रोकिएको मेलम्ची खानेपानी आपूर्ति पुनः सुरु भएको छ। वर्षातका कारण अवरुद्ध पाइपलाइन र क्षतिग्रस्त संरचनाको मर्मत सम्पन्न भएपछि मेलम्चीको पानी फेरि काठमाडौं उपत्यकामा ल्याइने कार्य सुरु गरिएको हो।

गत वर्ष असार १० गतेदेखि मेलम्ची खानेपानी बन्द गरिएको थियो। मेलम्ची खोलामा आएको बाढी र पहिरोले आयोजना क्षेत्रमा क्षति पुर्‍याएपछि हिउँदयामसम्म आपूर्ति रोकिनु परेको थियो। मर्मतपछि अहिले सुन्दरीजलस्थित पानी सङ्कलन र प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगिरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

advertisement

उनका अनुसार, ‘वर्षातको क्षति मर्मत गरी पानीको बहाव सामान्य भएपछि मेलम्चीको पानी पुनः काठमाडौं ल्याउन सफल भएका छौँ। हाल सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ।’

काठमाडौं उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। मेलम्ची बन्द हुँदा अन्य स्रोतबाट जम्मा १३ देखि १४ करोड लिटर मात्र आपूर्ति भइरहेको थियो।

 

मेलम्चीको पानी पुनः आइपुगेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नियमित वितरण सुरु गरेको छ। केयुकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार, मेलम्चीबाट आपूर्ति बढेसँगै अब उपत्यकाका उपभोक्ताले तीन दिनको फरकमा धारामा पानी पाउनेछन्।

‘अघिल्लो अवस्थामा हप्तामा एकदिन मात्रै पानी आउँथ्यो, अब तीन दिनको अन्तरमा हरेक घरमा पानी आउने व्यवस्था मिलाइएको छ,’ पौडेलले बताए।

२०७८ असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीले आयोजना क्षेत्रको हेडवर्क्स पूर्ण रूपमा नष्ट गरेको थियो। त्यसयता मेलम्चीको पानी हिउँदयाममा मात्र आपूर्ति हुँदै आएको छ।

बाढीपछिका वर्षहरूमा रिबर्मा खोलाबाट दैनिक ६ देखि ७ करोड लिटर पानी स्थानान्तरण गरी आपूर्ति गरिएको थियो। मेलम्ची खानेपानी विकास समितिका अनुसार, २०७८ चैत १५ गते पहिलो पटक पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरिएको भए पनि सोही वर्षको असार–साउनमा पुनः बाढी आएपछि नियमित आपूर्ति सम्भव हुन सकेको थिएन।

सरकार र मेलम्ची खानेपानी विकास समितिको दाबी छ -पछिल्ला मर्मत र पूर्वाधार सुदृढीकरणसँगै अब काठमाडौंमा स्थिर र दिगो रूपमा मेलम्चीको पानी आपूर्ति सम्भव हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com