काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामा युद्धविराम सम्झौता उल्लंघन गरी हिंसात्मक गतिविधि जारी राखे गम्भीर सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
ट्रम्पले बिहीबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, ‘यदि सम्झौताविपरीत हमासले गाजामा मानिसहरूको हत्या र हिंसा जारी राख्छ भने, हामीसँग तिनीहरूलाई पूर्ण रूपमा समाप्त गर्नुबाहेक अर्को विकल्प रहने छैन।’
उनको यो चेतावनी गाजामा पछिल्ला दिनमा बढ्दै गएको हिंसा र राजनीतिक प्रतिशोधका घटनासँग जोडिएको मानिएको छ।
यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिक पठाउने कुनै योजना नभएको स्पष्ट पारेका थिए। तर, पछिल्ला घटनाक्रमले युद्धविराम सम्झौता जोखिममा परेको देखिएको छ।
इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौता अनुसार दुबै पक्षले जीवित र मृत बन्दीहरू साटासाट गरेका थिए। उक्त सम्झौतामा इजिप्ट, कतार र टर्की ले समेत मध्यस्थता गरेका थिए।
तर, इजरायली सेना पछि हटेपछि गाजाका केही क्षेत्रमा हमासका लडाकुहरू फेरि हतियारसहित सडकमा देखिन थालेका छन्। यसले अन्य धार्मिक समूहहरूसँग सशस्त्र झडपको जोखिम बढाएको बताइएको छ।
युद्धविरामपछि गाजाका बासिन्दा आफ्ना घर फर्किन थालेका छन् भने दैनिक उपभोग्य सामग्री जुटाउन प्रयासरत छन्। अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले राहत सामग्रीका गाडीहरू गाजातर्फ पठाइरहेका छन्। संयुक्त राष्ट्रसहितका निकायहरूले थप मानवीय सहायता विस्तार गर्न आग्रह गरेका छन्।
दुई वर्ष लामो युद्धका कारण गाजा पूर्ण रूपमा ध्वस्त भएको छ। पछिल्ला तथ्यांकअनुसार, इजरायली आक्रमणमा ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने डेढ लाखभन्दा बढी घाइते भएका छन्। युद्धका कारण २० लाखभन्दा बढी नागरिक विस्थापित भएका थिए।
ट्रम्पको चेतावनीपछि मध्यपूर्वमा पुनः तनाव बढ्ने संकेत देखिएको छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया