काठमाडौं । अन्तरिम सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरिया भ्रमणमा जाँदैछन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई औपचारिक भ्रमणका लागि अनुमति दिएको सरकारका प्रवक्ता समेत रहेका खरेलले जानकारी दिए।
मन्त्री खरेल आगामी कात्तिक २६ गते दक्षिण कोरियाको सिओलमा हुने ११औँ ग्लोबल आइसीटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। उक्त फोरममा विश्वभरका सूचना प्रविधि क्षेत्रमा अग्रणी व्यक्तित्व, नीति निर्माता र उद्योग प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले विश्व बैंकको व्यवस्थापनमा सञ्चालित मल्टिडोनर ट्रस्ट फन्डमार्फत सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि उपलब्ध हुने १० मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता खरेलका अनुसार, सो अनुदान नेपालको वित्तीय प्रशासन प्रणाली सुदृढ गर्न, पारदर्शिता र सुशासन प्रवर्द्धनमा प्रयोग गरिनेछ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया