काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने षड्यन्त्रमा सरकार सक्रिय रहेको आरोप लगाएका छन्।
शुक्रबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सरकारले जेनजी आन्दोलनलाई बहाना बनाएर आफूलाई थुन्न प्रयास गरिरहेको दाबी गरे।
उनले भने, ‘गृहमन्त्रीले केपी ओलीलाई कसरी थुन्न सकिन्छ भन्ने विषयमा सल्लाह र छलफल गर्नुभएको छ, तर कतै केही प्रमाण भेटिएन। जेनजीहरूले पनि यस्तो माग गरेका छैनन्। तर सरकार भने जसरी पनि मलाई थुन्ने योजनामा निरन्तर लागेको छ।’
अध्यक्ष ओलीले जेनजी आन्दोलनले आफूविरुद्ध होइन, देश र लोकतन्त्रको पक्षमा आवाज उठाएको दाबी गर्दै भने, ‘जेनजीका युवाहरूले स्पष्ट भनेका छन्— हामी राजनीतिक दलविरुद्ध होइनौं, संविधानविरुद्ध पनि होइनौं।’
पार्टी नेताहरूले आफूलाई नरम भाषाशैली अपनाउन सुझाव दिएको प्रसंग उल्लेख गर्दै ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘साथीहरूले भन्नुहुन्छ— भाषा नरम पार्नुस्। अब के त्यसमा चिनी थपिदिऊँ र?’
उनले बैठकमा पार्टी एकता, राजनीतिक स्थायित्व र राष्ट्रिय स्वाभिमानका मुद्दामा दृढतापूर्वक अघि बढ्ने अठोट पनि दोहोर्याए।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार











प्रतिक्रिया