काठमाडौं । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता अन्त्य गरेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमार्फत उनले शुक्रबारदेखि रास्वपासँगको सम्पर्क औपचारिक रूपमा टुंग्याएको जानकारी गराएका हुन् ।
रास्वपाको कानुन विभागसहित विभिन्न संरचनामा सक्रिय रहेका डा. घिमिरेले पार्टीको विधान, नीति, नियमावली तथा कानुनी मस्यौदासम्बन्धी कार्यदलमा दीर्घकालीन योगदान दिएका थिए । कानुनी अभ्यास र नीतिगत सुधारका विषयमा उनी पार्टीभित्र महत्वपूर्ण सल्लाहकारका रूपमा परिचित थिए ।
प्रवासी नेपाली र गैरआवासीय नेपालीका समस्या समाधानमा केन्द्रित रहँदै डा. घिमिरेले सम्बन्धित कानुनहरूको गहन अध्ययन तथा पुनरावलोकन गरी व्यावहारिक सुधारका सुझावसहित मस्यौदा तयार पारेका थिए । गैरआवासीय नेपालीलाई नेपालको आर्थिक र विकास प्रक्रियामा सशक्त रूपमा जोड्न नागरिकता, लगानी र अन्य कानुनमा संशोधन आवश्यक रहेको धारणा उनले अघि सारेका थिए ।
संविधान तथा कानुन संशोधनका पहलमा पार्टीले नेतृत्वदायी भूमिका लिनुपर्ने विषयमा उनले निरन्तर जोड दिएका थिए ।
रवि लामिछानेसँग सम्बन्धित सहकारी प्रकरणमा उनले कास्की जिल्ला अदालतमा कानुनी विज्ञका रूपमा भूमिका निर्वाह गरे पनि अन्य अदालतमा लामिछानेविरुद्ध दायर मुद्दाहरूमा भने संलग्न रहेका थिएनन् ।
डा. घिमिरेले व्यक्तिगत कारण देखाउँदै पार्टीसँगको आफ्नो औपचारिक सम्बन्ध अन्त्य गरेको जनाएका छन् ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार











प्रतिक्रिया