काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आगामी निर्वाचनमा सहभागी नहुने घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।
शनिबार शीतलनिवासमा बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी सहभागी नहुने घोषणा गरेका थिए ।
शीतलनिवासमा उपस्थित एक सहभागीका अनुसार राष्ट्रपतिले छलफलका क्रममा एमालेको सो निर्णयलाई लोकतान्त्रिक प्रक्रियाका लागि निराशाजनक भनेका थिए ।
‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट सन्तुष्ट हुनुहुँदैनथ्यो,’ एक सहभागीले बताए, ‘उहाँले निर्वाचनमा सहभागी नहुने निर्णयले राजनीतिक प्रक्रिया जटिल बनाउन सक्छ भन्ने चिन्ता व्यक्त गर्नुभयो ।’
छलफलमा सहभागी अर्को अगुवाका अनुसार, राष्ट्रपतिले ओलीबाहेकका अन्य एमाले नेताहरूसँग पनि संवाद गरेको र ती नेताहरू निर्वाचनमा जानुपर्ने पक्षमा रहेको जानकारी दिएका थिए ।
‘राष्ट्रपतिज्यूले भन्नुभयो — एमाले अध्यक्षबाहेकका नेताहरूले पनि निर्वाचनमै जानुपर्ने धारणा राखेका रहेछन्,’ ती अगुवाले उद्धृत गरे ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले आफूले विगतमा ओलीकै सिफारिसमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रसंग पनि स्मरण गरेका थिए ।
राष्ट्रपतिले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै दलले निर्वाचन प्रक्रियामा सहभागी हुनु आवश्यक रहेको निष्कर्ष व्यक्त गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया