काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावमा नजाने घोषणा गरेर प्रधानमन्त्री सुशीला कार्कीलाई चूनौती दिन थालेको टिप्पणी गरेका छन्।
शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले ओलीको पछिल्लो राजनीतिक व्यवहारलाई विरोधाभासी र जिम्मेवार नेतृत्वको नमुना नभएको बताए।
उनका अनुसार, भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा युवाहरूको ज्यान गएको घटनामा संलग्न भएर जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा रहेका ओली अहिले उल्टै पुनः सक्रिय हुन खोज्दैछन्।
‘जेन–जी आन्दोलनका बेला युवाहरूको रगत बगाउँदासम्म मौन बस्ने ओलीजस्ता पात्र अहिले टाउको उठाउन थालेका छन्,’ साहले भने, ‘जनताको अदालतबाट भाग्नेहरूले कहिल्यै असल राजनीतिक नेतृत्व गर्न सक्दैनन्।’
साहले एमाले चुनावी प्रतिस्पर्धाबाट डराएर भाग्न खोजिरहेको आरोप लगाए। ‘एमाले जनताको मतदानबाट होइन, राजनीतिक षड्यन्त्रबाट बाँच्छ भन्ने प्रमाण यसपटक पनि देखिएको छ,’ उनले भने।
एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित २१ फागुनमा तोकिएको निर्वाचनमा भाग नलिने घोषणा गरेको स्मरण गर्दै साहले ओलीले आफ्नो अपराध ढाकछोप गर्न पार्टीकै बलिदान गर्न खोजेको आरोप लगाए।
‘आफ्नो गल्ती र अपराध लुकाउन ओलीले सिंगो पार्टीलाई नै दाउमा लगाएका छन्,’ उनले भने, ‘चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोस्, जनताले तपाईंहरूको चाल बुझिसकेका छन्।’
साहले एमालेको दोहोरो व्यवहार पनि औंल्याए। ‘एकातिर ओली चुनावमा भाग नलिने घोषणा गर्छन्, अर्कोतिर उनका नेताहरू शीतलनिवास र निर्वाचन आयोगका बैठकमा सहभागी हुन्छन्,’ उनले भने, ‘यो एमालेको द्वैध चरित्रको स्पष्ट उदाहरण हो।’
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया