काठमाडौं । गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका आफन्तहरूले गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध प्रहरीमा औपचारिक उजुरी दर्ता गरेका छन् ।
शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गिरीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी परेको प्रहरीले पुष्टि गरेको छ । उजुरी दर्ता भएपछि उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् । गम्भीर रूपमा घाइते भएकी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान पौडेलको मृत्यु भएको हो ।
उनको निधनपछि गायक गिरी आफैं प्रहरी सम्पर्कमा पुगेका थिए । अहिले उनीमाथि पौडेललाई आत्महत्यातर्फ प्रेरित गरेको आशङ्कामा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया