महोत्तरी । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान २५ वर्षीय युवकको शव फेला परेको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको बुझिएको छ ।
स्थानीयको भनाइअनुसार मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालाका विभिन्न होटेलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । उनी केही समय बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । रासस
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया