काठमाडौं । नेकपा (एमाले) ले भदौ २४ गतेको आन्दोलनमा कार्यालय जलेपछि अस्थायी रूपमा त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ।

शनिबारदेखि त्रिपालमुनि कार्यालय सञ्चालन थालिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको चमेना गृह अगाडिको भागमा त्रिपाल टाँगिएको छ र त्यहीँबाट दैनिक प्रशासनिक काम, नेता–कार्यकर्ता भेटघाट तथा जनसम्पर्कका गतिविधि सञ्चालन हुने छन्।

advertisement

रिजालले भने, ‘हामीले त्रिपालमुनि कार्यालय सञ्चालन सुरू गरेका छौं। जलाइएको चमेना गृहको मर्मत कार्य पनि भइरहेको छ। नयाँ झ्यालहरू मगाइसकिएका छन्, ढोका तयार छ, आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आउनेछ।’

भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा एमालेको केन्द्रीय कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। त्यसयता पार्टी कार्यलयरहित बनेको थियो।

रिजालका अनुसार अहिले भग्नावशेषमा परिणत भएको भवनको मर्मतसमेत भइरहेको छ। अध्यक्ष र महासचिवको कार्यकक्ष रहेको भाग पुनःनिर्माणमा रहेको उनले जानकारी दिए।

पार्टीको स्थायी कार्यालय भने व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा निर्माणाधीन छ। गुरुङकै सहयोगमा निर्माण भइरहेको सो भवन यस वर्षको घटस्थापनामा उद्घाटन गर्ने योजना भए पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण ढिलाइ भएको एमालेले जनाएको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com