काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस गरेका खगेन्द्र सुनार अब शपथ नलिने भएका छन्। फौजदारी मुद्दामा उनी प्रतिवादी रहेको खुलेपछि उनको शपथ स्थगित गरिएको हो।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको सूचीमा सुनारको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा समावेश गरिएको थियो। तर, दिउँसो प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रपति कार्यालय पुगेर सुनारको शपथ नहुने जानकारी गराएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
राष्ट्रपति कार्यालयका एक स्रोतले भने, ‘बिहान पठाइएका नामावलीमा खगेन्द्र सुनारको नाम समावेश थियो। तर अहिले प्रधानमन्त्रीका स्वकीय सचिव स्वयं आएर उहाँको शपथ नहुने जानकारी गराउनुभयो।’
यसैबीच, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने सुनार मन्त्रीको सूचीमै नरहेको दाबी गरेका छन्। उनको यो प्रतिक्रिया सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो।
दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका स्थायी निवासी सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको थियो। स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा दायर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा पेस गरेको थियो।
अदालतको अभिलेख अनुसार, २०८१ असार १४ मा सुर्खेत जिल्ला अदालतले सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो। त्यतिबेला दैलेख जिल्ला प्रहरी कार्यालयलाई पक्राउ नगरेसम्म ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउने’ निर्देशनसमेत दिइएको थियो। त्यसपछि २०८१ मंसिर २१ मा पनि अदालतले उनलाई पक्राउ गरी उपस्थित गराउन पुनः पत्राचार गरेको थियो।
यो मुद्दा गुर्भाकोट नगरपालिका–८ मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दायर गरेको जाहेरीका आधारमा अघि बढाइएको थियो।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया