सङ्खुवासभा । जेनजी आन्दोलनपछिको सुरक्षा संवेदनशीलता र चाडपर्वको भीडभाडलाई ध्यानमा राख्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा जिल्लाका प्रमुख बजार क्षेत्रमा पैदल तथा मोबाइल गस्ती थालेका छन्। खाँदबारी, तुम्लिङटार, चैनपुरलगायतका बजारमा पछिल्ला दिनमा संयुक्त सुरक्षाकर्मीहरूको सक्रिय उपस्थिति देखिएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि र जनसमूहको बढ्दो भीडका कारण सुरक्षामा चुनौती देखिएकाले संयुक्त गस्तीमार्फत निगरानी कडाइ गरिएको हो।
“शान्ति र सुरक्षाको वातावरण सुदृढ गर्न सबै सुरक्षा निकायहरू समन्वयमा छन्,उनले बताए, मुख्य सडक, बजार, बैंक, बसपार्क र सरकारी कार्यालय आसपास निगरानी बढाइएको छ। मैनालीका अनुसार यस्तो गस्तीले आपराधिक घटना, चोरी–डकैती, झगडा र अवाञ्छित गतिविधि नियन्त्रणमा सहायक हुने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले संयुक्त गस्ती सुरु भएपछि बजार क्षेत्रमा सुरक्षाको अनुभूति बढेको बताएका छन्। खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठका अनुसार, सेना र प्रहरी एकसाथ बजारमा देखिँदा सबैलाई सुरक्षित महसुस हुन्छ, यस्तो व्यवस्था निरन्तर रहनुपर्छ।
सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भीडभाड बढ्ने भएकाले राति समेत गस्तीलाई निरन्तरता दिने तयारी भइरहेको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया