काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने कुनै निर्णय बाह्य दबाब वा प्रभावमा नहुने स्पष्ट पारेको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री अर्याललाई पदमुक्त गर्न खोजिएको भन्ने समाचारहरू पूर्णतः भ्रमपूर्ण र तथ्यहीन रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई मन्त्री नियुक्त गर्ने वा पदमुक्त गर्ने अधिकार केवल सम्माननीय प्रधानमन्त्रीज्यूको संवैधानिक अधिकार हो। यस्तो निर्णय कसैको दबाब, प्रभाव वा बाह्य हस्तक्षेपका आधारमा गर्न सकिँदैन।’
सचिवालयले थप स्पष्ट पारेको छ कि जेन–जी आन्दोलनबाट प्राप्त जनादेशअनुरूप बनेको वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको स्थायित्व र सुशासनका लागि काम गरिरहेको छ। गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका तयारी, शान्ति–सुरक्षा सुदृढीकरण तथा सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर सक्रिय भूमिका खेलेका उल्लेख गरिएको छ।
विज्ञप्तिको अन्त्यमा सचिवालयले हालको संवेदनशील राजनीतिक वातावरणमा निराधार हल्ला र अफवाह फैलाउने कार्य नगर्न र त्यस्ता समाचारमा विश्वास नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया