काठमाडौं । देशभरको प्रतिकूल मौसमका कारण आज (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरू प्रभावित भएका छन्। बिहानदेखि दृश्यता (भिजिबिलिटी) कमजोर भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान अवरुद्ध भएका हुन्।
विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको उडानलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ मोडिएको छ भने इन्डिगो एयरको उडान पनि पुनः दिल्ली फर्काइएको छ।
मौसममा आएको खराबीका कारण आन्तरिक उडानहरू समेत प्रभावित भएका छन्। विशेष गरी लुक्लातर्फका बिहानका सबै उडान रद्द गरिएको छ।
विमानस्थलका अधिकारीहरूका अनुसार दृश्यता न्यून भएका कारण विमानहरू सुरक्षित रूपमा अवतरण र उडान गर्न नसक्दा अस्थायी रूपमा सबै उडान रोकिएका छन्। मौसम सामान्य भएपछि मात्र उडान सञ्चालन गरिने जनाइएको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया