काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वको सरकार ढल्न पुग्नमा सुरक्षा संयन्त्रको असहयोग मुख्य कारण भएको दाबी गरेका छन्।
बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेपाल प्रहरीले विगतमा ठूलो भीड व्यवस्थापन गर्ने क्षमताको प्रदर्शन गरेको स्मरण गर्दै अहिलेको घटनामा असहयोग र षड्यन्त्र देखिएको बताए। उनले भने, ‘नेपाल प्रहरीले विगतमा लाखौंको भीड सजिलै व्यवस्थापन गरेको छ। तर भदौ २३ र २४ गतेको जुलुसमा पन्ध्र हजार मानिसमा १९–२० जनालाई क्षति पुगेको घटना हाम्रो अभ्याससँग मेल खाँदैन। यसले स्पष्ट देखाउँछ कि सुरक्षा संयन्त्रको असहयोग र षड्यन्त्र भएको हो।’
उनले तत्कालीन आन्दोलनलाई सामान्य आक्रोशका रूपमा चित्रण गर्ने प्रयास गलत भएको भन्दै प्रहरी र न्याय प्रणालीमाथिको आक्रमणले कानुन प्रणालीलाई कमजोर पार्ने प्रयास भएको बताए। पोखरेलले शीतल निवास, सिंहदरबार जस्ता ऐतिहासिक संरचना भत्काउने षड्यन्त्र पनि बाहिर आएको दाबी गरे।
महासचिव पोखरेलले गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) लाई राजनीतिक गतिविधिको स्टेकहोल्डर मान्नु असंवैधानिक भएको भन्दै वर्तमान सरकार एनजिओ/आइएनजिओको प्रभावमा रहेको टिप्पणी पनि गरे। उनले भने, ‘नेपालमा सरकार र संविधानको मान्यता राजनीतिक दलले निर्धारण गर्छन्, तर अहिलेको सरकार एनजिओ/आइएनजिओको सरकार जस्तो देखिन्छ, संवैधानिक मान्न सकिँदैन।’
पोखरेलले भदौ २३ गतेको घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा किन यस्तो दुर्घटना भयो भन्ने प्रश्न उठाएको बताए। उनले अहिले गठन भएको गौरीबहादुर कार्की आयोगले निष्पक्ष छानबिन गर्न सक्ने शंका व्यक्त गर्दै, आयोगकै अध्यक्षले विगतमा लेखेका स्ट्याटसहरूले तटस्थ छानबिनमा असर पर्ने हुँदा नैतिक हिसाबले आयोगले नेतृत्व छोड्नु उपयुक्त हुने बताएका छन्।
उनले निष्पक्ष छानबिन र घटना सत्यतथ्य बाहिर ल्याउनको लागि राजनीतिक दल र सुरक्षा निकाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताए।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया