काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि लागू गरेको नयाँ मापदण्डका कारण नेपाली रोजगार बजारमा पर्न सक्ने सम्भावित असरको अध्ययन गरी आवश्यक पहल गर्न निर्देशन दिएकी छिन्।
बिहीबार बिहान आफ्नै कार्यकक्षमा श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई बोलाएर प्रधानमन्त्री कार्कीले उक्त विषयमा विस्तृत जानकारी लिएकी थिइन्। उनका अनुसार प्रधानमन्त्रीले मलेसियाको नयाँ नीतिले नेपाली रोजगार क्षेत्र र व्यवसायीहरूमा पर्न सक्ने प्रभावबारे गहिरो अध्ययन गरी उपयुक्त कार्ययोजना बनाउन आग्रह गरेकी हुन्।
सचिव पुष्करले प्रधानमन्त्रीलाई मलेसियाले ल्याएको नयाँ मापदण्डबारे प्राप्त विवरण प्रस्तुत गर्दै कूटनीतिक माध्यमबाट समाधान खोज्नु आवश्यक रहेको बताएका थिए। त्यसपछि प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच समन्वय गरी यस विषयमा सामूहिक पहल गर्न निर्देशन दिइन्।
मलेसिया हाल नेपाली कामदारहरूका लागि प्रमुख गन्तव्य मुलुकमध्ये एक हो। नेपालमा दर्ता भएका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये झन्डै ९०० कम्पनी मलेसिया गन्तव्यका कामदार आपूर्ति व्यवसायमा निर्भर छन्।
नयाँ मापदण्डका कारण नेपालका केही ठूला रोजगार कम्पनी मात्र मलेसियामा कामदार पठाउन योग्य हुने अवस्था सिर्जना भएको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया