काठमाडौं । मेक्सिकोको उत्तरी सहर हर्मोसिलोमा रहेको प्रसिद्ध वाल्डोज डिस्काउन्ट स्टोरमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार शनिबार साँझ स्टोरभित्र विस्फोटसदृश आवाज आएपछि आगो फैलिएको बताइएको छ । सोनोरा राज्यका अधिकारीहरूले घटनास्थलमा रहेका दमकल र उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्याएको जानकारी दिएका छन् ।
सोनोराका गभर्नर अल्फोन्सो दुराजोले आगलागीको वास्तविक कारण अहिले पनि अनुसन्धान भइरहेको बताउँदै, ‘यो योजनाबद्ध आक्रमण होइन’ भनेर जनाएका छन् ।
वाल्डोज स्टोर मेक्सिकोको सबैभन्दा ठूलो डिस्काउन्ट रिटेल श्रृंखलामध्ये एक हो, जहाँ दैनिक सयौं ग्राहकहरू आउने गर्छन्। घटनापछि सम्पूर्ण क्षेत्रलाई सुरक्षाका लागि बन्द गरिएको र विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया